युरोपेली मुलुक पठाइदिने भन्दै ८० लाख ठगी गर्ने पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

रोजगारीका लागि युरोपका विभिन्न मुलुक पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको ठमेल बस्दै आएका पाकिस्तानी नागरिक ५१ वर्षका नाजिर मोहम्मद र अजरबैजानी नागरिक ३१ वर्षकी आयसेल हुसेनिललाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूले आपसी मिलेमतोमा चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देश पठाइदिने भनी ८० लाख रूपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

वर्कपर्मिटलगायतका नक्कली कागजातहरू देखाएर ठगी गर्ने योजना बनाइरहेको जाहेरीका आधारमा उनीहरूलाई ठमेलस्थित ‘होटल यात्री एण्ड डड्डी सुइट्स एण्ड स्पा’ को कोठा नं. ३०४ र ३१४ बाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले प्रक्रियाका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लाग्ने भन्दै रकम असुली गरेका थिए।

पीडितहरूलाई नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेका थिए।

उनीहरूले पीडितहरूलाई विश्वासमा पार्न अजरबैजानमा समेत लगेर घुमफिर गराएको अनुसन्धानबाट थाहा भएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *