क्रिकेटर ऐरीलाई बढुवा पुरस्कार दिँदै आईजीपीले भने- सिंगो मुलुक र प्रहरी संगठनको गरिमा उच्च भयो

प्रहरी संगठनमा आबद्ध भएकोमा गौरव महसुस गरेको छु : दीपेन्द्रसिंह ऐरी

छिमेकी चीनमा सञ्चालन भइरहेको १९ औं एशियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका ऐरीलाई नेपाल प्रहरीको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर विश्व कीर्तिमान कायम गर्न सफल भएकामा बधाई दिए । सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै एक तह बढुवा दिने निर्णय भएको उल्लेख गरे ।

प्रहरी सहायक हवल्दार ऐरीलाई बढुवा गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार प्रहरी महानिरीक्षक कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकको निर्णयमा भनिएको छ, ‘१९ औं एशियन गेम्समा विश्व कीर्तिमान रची देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।’

ऐरीले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै चीनमा सञ्चालन भइरहेको १९ औं एशियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा असोज १० गते भएको मंगोलियाविरूद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।

यसैबीच प्रहरीले एशियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल ऐरीसहित नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्त्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको उल्लेख गरे । आफूभित्रको स्पोर्ट्स म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीहरूलाई आग्रह गरे ।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित खेलाडीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टीमका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरी संगठनमा आबद्ध भएकोमा गौरव महसुस गरेको बताए । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो ।

आजै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सहसचिव प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्वागत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *