द्वन्द्वकालमा अंगभंग भएका सशस्त्र प्रहरीका दुई अधिकृतको एसपी र डीएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले द्वन्द्वकालमा विद्युतीय धरापमा परेर अंगभंग भएका दुई अधिकृतको एक तह बढुवा सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अरूण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वामदेव पण्डित (शर्मा) लाई डीएसपीमा पदमा बढुवा सिफारिस गरिएको हो।

शारिरीक रूपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्थअन्तर्गत उनीहरूको बढुवा सिफारिस गरिएको हो।

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवस्रोत विभागअन्तर्गत रहनेछन्।

एक पटकका लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन्।

सशस्त्र प्रहरी बल, नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८० स्वीकृत भएपश्चात् सो व्यवस्था लागू भएको हो। साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअन्तर्गत क्रमशः सम्बोधन गर्दै लैजाने योजना संगठनको रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *