एशियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीको सम्मान

प्रधानमन्त्री पुष्प कमलदाहाल ‘प्रचण्ड’ ले एसियाडमा पदक जित्ने खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनले एसियाडमा पदक जितेका खेलाडीलाई माला लगाएर बधाई ज्ञापन गर्नुका साथै थप सफलताका लागि शुभकामना दिए ।

‘कबड्डी र कराँतेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठूलो सफलताको शुभकामना,’ उनले भने ‘मैले जाँदा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो, तपाईंहरूलाई बधाई दिन चाहन्छु ।’

त्यस्तै उनले खेलाडीको प्रोत्साहका लागि दिने भनिएको रकम अबको एक हप्तामा निकासा हुने पनि जानकारी गराए । ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ,’ उनले भने ‘अरू देशको तयारी तपाईंले देख्नुभयो, हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो । केही अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नुभो ।’

त्यस्तै आफूले संयुक्त राष्ट्रसंघबाट र खेलाडीहरूले चीनबाट विश्वमा नेपालको नाम स्थापित भएको तर्क गरे । ‘म संयुक्त राष्ट्रसंघ पुगेर आएँ । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ,’ उनले भने, ‘सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु ।’

सम्मानित खेलाडीहरूले सरकार तथा प्रधानमन्त्रीले दिएको हौसलाका लागि धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *