सशस्त्र प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना : २९ हजार १५४ सशस्त्र प्रहरी परिचालन

सशस्त्र प्रहरी बल, नेपालले चाडपर्वलाई लक्षित गरी चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरी बल, नेपालका २९ हजार १ सय ५४ जना सशस्त्र प्रहरी कर्मचारीहरू सुरक्षा योजनाअन्तर्गत परिचालित गरिएको छ भने तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमा रहने छन् । करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् ।

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको हो ।

देशभरका सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपदमा परेका नागरिकको उद्वार कार्यमा सहयोग पुर्‍याउने अभिप्रायले भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १ सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) समेत स्थापना गरेको छ ।

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागुऔषध पहिचाहन गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ ।

दशैं, तिहार, छठ तथा अन्य चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुका साथै मुख्य राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आईआरटी टोली परिचालिन गरिने छ ।

प्राकृतिक तथा मानव सिर्जित विपदको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी सशस्त्र प्रहरी बल, नेपालले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी ८ ठाउँमा स्थापना गरिएको विपद व्यवस्थापन बेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको छ । यस्तै स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न ८ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेहिकल (एमसीबी) समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले तयार गरेको योजनाअन्तर्गत ५ सय ६३ स्थानमा पैदल गस्ती, ३ सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती), २ सय ९ स्थानमा क्यूआरटी र ३ सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने छन् ।

उक्त ड्युटी अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानीलक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानहरूमा ५ वटा अनुगमन टोली समेत परिचालित हुने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर