सशस्त्र प्रहरीकै पेट्रोल पम्पलाई एक लाख जरिवाना

गुणस्तर तथा नापतौल विभागले कम परिमाणमा डिजेल बेचेको पुष्टि भएपछि सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोल पम्पलाई एक लाख रूपैयाँ जरिवाना गरेको छ।

अनुगमनका क्रममा उक्त पेट्रोल पम्पमा रहेको डिजेलको चारमध्ये एउटा नोजलबाट २५ एमएलसम्म कम डिजेल आएपछि जरिवाना गरिएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका सूचना अधिकारी निराजन पुडासैनीले पर्दाफासलाई बताए।

उनका अनुसार कात्तिक १ गते गरिएको अनुगमनका क्रममा एउटा नोजलबाट ५ लिटरमा परीक्षण गर्दा २५ एमएल डिजेल कम आएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो कैफियत भेटिएको हो।

मापदण्डअनुसार घटी-बढीको हद पाँच लिटरमा १५ एमएलसम्म हुने भए पनि मापदण्डविपरीत कम डिजेल बिक्री भएको पाइएपछि पेट्रोल पम्पलाई जरिवाना गरिएको पुडासैनीले बताए।

अनुगमनमा सो पम्पको एउटा नोजलबाट कम परिमाणमा डिजेल आएपछि गुणस्तर तथा नापतौल कार्यालयले प्राविधिकसहित थप अनुसन्धान गरेको थियो। अनुसन्धानमा पनि कम परिमाणमा डिजेल आएपछि एक लाख रूपैयाँ जरिवाना गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *