रद्द भयो सुन तस्करीका नाइके दावा छिरिङको नेपाली नागरिकता

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणका नाइके चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङले झुटा विवरण पेस गरी लिएको नेपाली नागरिकता रद्द भएको छ।

उनले निमा तामाङको नाममा काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको नेपाली नागरिकता बिहीबारको मन्त्रिपरिषद बैठकले रद्द गर्ने निर्णय गरेको हो।

दावासँगै कालिकोटबाट जारी देवराज धमलाको नागरिकता पनि रद्द गर्ने निर्णय भएको छ।

दावाले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए। तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र राहदानी छ।

नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका छन्।

दावा काठमाडौंको ठमेलस्थित भियना होटलका सञ्चालक पनि हुन्। नेपालमा चिनियाँ गिरोह भित्र्याउने उनी नै मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको पाइएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन्।

उनीसँगै पक्राउ परेका अन्य चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ। ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ। तर, सेटिङमा विदेशीलाई नागरिकता दिने कर्मचारीमाथि भने छानबिन र कारबाही भएको छैन।

गत ३ साउनमा मोटरसाइकल र स्कुटरको ब्रेक शुमा ६० किलोे ७१६ ग्राम सुन हङकङबाट तस्करी गरेर नेपाल भित्र्याइएको थियो। राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सो सुन बरामद गरी अभियुक्तहरूलाई पक्राउ गरेर प्रारम्भिक चरणको अनुसन्धान गरेको थियो।

बीचममा विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बाँकी अनुसन्धानको जिम्मा दिएको थियो। हाल यस प्रकरणमा २५ जना थुनामा छन्। जसमध्ये ७ जना चिनियाँ छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर