भूकम्प प्रभावितको उद्धार र राहत एकद्वार प्रणालीबाट : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका कामहरू एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन् ।

गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए ।

उनले भने, ‘रेस्क्युको लागि आवश्यकताअनुसार दक्ष जनशक्ति पठाउनेछौं । बिहानदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन् । उद्धार र राहतका कामहरू एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय पनि गरिसकेका छौं ।’

उनले आवश्यकताअनुसार कम्बल, पाल, खानेकुराहरूको व्यवस्था गर्नुका साथै भूकम्पको कारणले अवरूद्ध भएका सडकहरूलाई चाँडै खुलाउनका लागि पनि प्रयासहरू भइरहेको बताए ।

उनले भने, ‘आजको आवश्यकता हेरेर हामीले कम्बल, पाल, खानेकुराका लागि जे-जे आवश्यक हुन्छ त्यसको व्यवस्था भइसकेको छ । पुगेन भने तुरून्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौं । त्यसको तत्काल व्यवस्था गर्छौं । भूकम्पले अवरूद्ध भएका सडकलाई केही घण्टाभित्रै खुलाउनका लागि आवश्यक सामग्री पुगिसकेको छ । सडक विभागलाई त्यसको जिम्मेवारी दिएका छौं ।’

उनले प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरूको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै सर्च, रेस्क्यु र रिलिफलाई प्रमुख नीति बनाएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरूको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर त्यो काम भइरहेको छ । अहिले हाम्रो प्रमुख नीति सर्च, रेस्क्यु र रिलिफलाई बनाएका छौं । त्यसअन्तर्गत हामीले मूल बेस सुर्खेतलाई बनाउने र सहायक बेस नेपालगञ्जलाई बनाएर आवश्यक जनशक्ति, सामग्री र व्यवस्थापन त्यहाँबाट हुने गरी व्यवस्था गरेका छौं ।’

अहिलेसम्मको विवरणमा भूकम्पबाट १ सय ३८ जनाको मृत्यु भएको छ भने १ सय ६६ जना घाइते भएका छन् । घाइतेहरू रूकुम र जाजरकोटका छन् ।

यस्तै दैलेख, रोल्पा र जुम्लामा ७ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर