भूकम्प प्रभावितको राहत तथा उद्धार कार्यमा हुने हवाई इन्धनको खर्च आयल निगमले व्यहोर्ने

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा प्रभावितहरूको राहत तथा उद्धार कार्यमा खर्च हुने हवाई इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ ।

भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि खटिएका नेपाल एयरलायन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले व्यहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार शनिबार बिहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्नेछ ।

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म  २०२ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रूकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेका छन् । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकोप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर