मुगु सामूहिक हत्या प्रकरण : अझै पत्ता लाग्न सकेन हत्यारा, सीआईबीले थाल्यो अनुसन्धान

मुगुको छायानाथ रारा नगरपालिका-६, मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरू गरेको छ ।

सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य-प्रमाण सार्वजनिक गर्न सकेको छैन ।

शनिबारदेखि सीआईबीले हत्या प्रकरणको बाँकी अनुसन्धान थालेको छ ।

कार्तिक ८ गते (यद्यपि ८ गते वा ९ गते राति हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिकासहित परिवारकै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो ।

त्यसयता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वसहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले संयुक्त रूपमा अनुसन्धान गरे पनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन ।

सुरूबाटै घटनास्थल केन्द्रित गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखे पनि ठोस प्रमाण फेला नपरेकाले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम प्रहरीले गरिरहेको छ । सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’ थापाले भने ।

सीआईबीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटिएको छ । यद्यपि टोलीमा सहभागी सदस्य संख्याबारे प्रहरीले विवरण दिएको छैन ।

घटनाको थप अनुसन्धानको जिम्मा सीआईबीले लिए पनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सीआईबीले संयुक्त रूपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर