भूकम्पपीडितलाई भारतले पठायो राहत

भारत सरकारले नेपालका भूकम्पपीडितलाई पहिलो चरणमा भारू १० करोड (नेपाली १६ करोड रूपैयाँ) बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।

भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले राहत सामग्रीको पहिलो खेप आइतबार दिउँसो नेपालगञ्ज विमानस्थलमा लिएर आएको हो ।

११ टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्वप्रतिबद्धताअनुसार राहत सामग्री नेपाल आएको होे ।

भारतले पठाएका राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन् ।

राहत सामग्रीका थप खेप पनि उलब्ध गराइने र घनिष्ट मित्र तथा छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरूलाई हरसम्भव सहयोग गरिने भारतले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि पनि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरूमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेसन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य सञ्चालन गरेको थियो ।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रूपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो, जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० अजनर घरहरूको पुनर्निर्माण कार्य समावेश थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्ला प्रभावित भएका छन् ।

हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा धेरै घाइते छन् । करौडौंको भौतिक क्षति भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर