महोत्तरीमा पिस्तोल देखाएर ५० लाख रूपैयाँ बढीको धनमाल लुटपाट

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८, रतवारा गाउँमा गएराति एक घरमा डाकाहरूको समूहले बन्दुकको आडमा ५० लाख रूपैयाँ बढीको लुटपाट गरेका छन् ।

जयकिशोर चौधरीको घरमा गएराति १:३० बजे पिस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौंको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

डाकाहरूले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पिस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेको उनले बताए । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौंको सुन, चाँदी र नगद लुटपाट गरेका छन् ।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरूले भित्र छिर्ने बित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक-पटक हान्दै १:३० देखि करिब २ बजेसम्म लुटपाट गरेको पीडित परिवारले जनाएका छन् ।

डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।

डाकाहरूले चौधरीको घरबाट एक लाख रूपैयाँ नगद, ४० तोला बढी सुनका गरगहना, अढाइ किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबरको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख रूपैयाँ बढीको लुटपाट गरेको पीडित चौधरीले जानकारी दिए ।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए । घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर