सशस्त्र प्रहरीले पठायो भूकम्प प्रभावित क्षेत्रमा डिजास्टर रिलिफ सिस्टम कन्टेनर

सशस्त्र प्रहरी बल, नेपालले विपद्को समयमा प्रभावितहरूका लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रूकुम पश्चिमका नागरिकहरूको राहतका लागि डीआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाइएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेनर रूकुम पश्चिमका लागि पठाइएको हो । ती कन्टेनरमा उपलब्ध साधन स्रोतबाट सम्बन्धित क्षेत्रहरूमा अस्थायी बसोबासका लागि संरचना निर्माण भइसकेका छन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका-१, रावतगाउँमा अस्थायी संरचना निर्माण भइसकेका छन् भने रूकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भइसकेको छ ।

नेपालस्थित अमेरिकन राजदूतावासबाट सहयोगस्वरूप प्राप्त भएका ३३ वटा डीआरएस कन्टेनरमध्ये ३ वटा जाजरकोट र २ वटा रूकुम पश्चिममा पठाइएको हो । बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरूमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ ।

एउटा डीआरएस कन्टेनरमा एक सय जनाका लागि खाद्यान्नबाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडालगायतका सामाग्री हुन्छन् ।

यसैगरी आइतबार नै नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीनवटा कन्टेनरसमेत सशस्त्र प्रहरी बल, नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर