जाजरकोट भूकम्प

दलाई लामाले पठाए प्रधानमन्त्रीलाई शोक सन्देश

तिब्बती बौद्ध धर्मगुरू दलाई लामाले पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शोक सन्देश पठाउँदै उनले भूकम्पबाट ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले शोक सन्देशमा भनेका छन, ‘म आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारहरूप्रति समवेदना प्रकट गर्दछु र यस त्रासदीबाट प्रभावित सबैको लागि प्रार्थना गर्दछु।’

उनले भूकम्पबाट प्रभावितहरूलाई सहयोगका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूले काम गरिरहेको विश्वास पनि व्यक्त गरेका छन्।

नेपालका जनताप्रति ऐक्यबद्धता जनाउँदै उनले उद्धार र राहत कार्यमा आर्थिक सहयोग गर्ने पनि बताएका छन्।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरेर १५३ जनाको मृत्यु भएको छ। साथै दुई सय जनाभन्दा धेरै घाइते भएका छन् भने करोडौंको भौतिक क्षति भएको छ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा पनि सोही स्थान केन्द्रबिन्दु भएर ५.८ र त्यसको केही बेरमै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैँक आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर