प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन्। बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो।
सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठलगायत न्यायाधीशहरूले भूकम्पपीडितका लागि ७ दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन्।
बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।
त्यसैगरी अदालतका विशिष्ट श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र  अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ।
सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *