जाजरकोट भूकम्पको केन्द्रमा राखियो सिस्मोमिटर

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपासमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरेको छ ।

केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार सिस्मोमिटर जडान गरेको हो । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् । भने ४ म्याग्निच्युटका भुकम्पहरु गइरहेको केन्द्रले जनाएको छ ।

पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताए ।

उनका अनुसार अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने उनले जानकारी दिए  । अधिकारीले भने, ‘यसले यहाँको भूकम्पको वास्तविक केन्द्रबिन्दु पत्ता लगाउँछ, अनि भूकम्पको कम्पनको मान कति हो भन्ने पनि पत्ता लगाउँछ । अन्यत्रको यन्त्रका भरमा अहिले इपिसेन्टर रामीडाँडा तोकिएको छ । अझ त्योभन्दा नजिकको इपिसेन्टरको तय पनि यस यन्त्रले गर्ने छ ।’

रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।

अहिले राखिएको सिस्मोमिटर प्राविधिक रूपले अति राम्रो र अद्यावधिक रहेकाले भूकम्पको यकिन तथ्याङ्क दिने अधिकारीले बताए । उनका अनुसार यन्त्र भएको स्थानमा २ म्याग्निच्युटभन्दा साना भूकम्प गएको खण्डमा त्यो पनि रेकर्ड गर्छ । जसले सामान्य गल्तीका लागि स्थान नदिई जे हो त्यही सूचना पठाउँछ ।

गाउँपालिकाले उपलब्ध गराएको सुरक्षित स्थानमा यन्त्र जडान गरिएको केन्द्रका चिन्तन तिमिल्सिनाले बताए । माटोमुनि स्वचालित रूपमा जडान गरिएको यन्त्र यहाँ अस्थायी रूपमा राख्ने योजना छ तर भूकम्प दोहोरिइरह्यो भने राख्ने समय लम्बिन सक्छ । उनका अनुसार भूकम्पका दरार कस्ता छन्? यसको प्रवित्ति र प्रकृति कस्तो छ? जमिनमुनि भूकम्पको शक्तिको हलचल कता बढी छ? जस्ता विषयको अध्ययनमा पनि नयाँ राखिएको यन्त्रले सूचना सङ्कलन गरेर पठाउने गर्छ । यन्त्रले पठाएको सूचनाका आधारमा भूकम्पको शक्ति कहिलेदेखि सञ्चित हो? कत्रो छ? भन्नेसम्मको विश्लेषण गर्न सहयोग पुर्याउने उनले बताए ।

काठमाडौँबाट ल्याइएको यन्त्र अधिकारी नेतृत्वको टोलीले सुरक्षित रूपमा जमिनभित्र गाडेपछि त्यसको रेखदेख गर्न गाउँपालिकालाई जिम्मा दिइएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले वडा नम्बर २ ले त्यसको सुरक्षा गर्ने र पालिकाले अनुगमन गर्न सघाउने बताए । वडा नम्बर २ का वडाध्यक्ष वीरबहादुर घर्तीले भूकम्पको धक्का थाहा पाउने यन्त्र आफ्नो गाउँमा राख्नु गाउँकै लागि खुसीको कुरा भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर