ज्यान मार्ने उद्योग मुद्दामा माओवादी केन्द्रका वडाध्यक्ष कारागार चलान

सर्लाहीको धनकौल गाउँपालिकाका एक वडाध्यक्ष मुद्दा पुर्पक्षका सिलसिलामा कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले कारागार चलान गर्न आदेश दिएको हो ।

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतोसमेत संलग्न रहेको आरोप लगाउँदै ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफैँ अदालतमा उपस्थित भएका थिए । न्यायाधीश थापाको इजलासले पछि ठहरेबमोजिम हुने गरी तत्काल मुद्दाको पुर्पक्षको सिलसिलामा वडाध्यक्ष महतोलाई कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

महतो स्थानीय तह निर्वाचन-२०७९ मा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारूले जानकारी दिए । यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र खोजी जारी रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर