सेनाले गर्यो फायर फाइटिङ नमुना अभ्यास

एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए। पोखरा महानगरपालिका(२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो।

त्यतिबेला नेपाली सेनासहितको उद्धार टोली आइपुग्यो । केही घाइतेको उपचारमा लागे भने केहीले दमकलको सहायताले आगो निभाउन थाले । पोखरा महानगरपालिका-२६,विजयपुर पश्चिम पृतना हेडक्वाटरको पूर्व र पश्चिम साइडमा आगलागी नियन्त्रणसम्बन्धी नमुनाका लागि बनाइएको घरबस्ती थियो र त्यहीँ आगो लागेको थियो । गण्डकी प्रदेश सरकारको आयोजना तथा पश्चिम पृतना हेडक्वाटर पोखराको व्यवस्थापनमा सञ्चालित विपत् उद्धार कार्यमा खटिने सुरक्षाकर्मीका लागि एकहप्ते फायर फाइटिङ तालिम प्रशिक्षणको समापनमा नमुना प्रदर्शन गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जना सहभागी थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमाणपत्र प्रदान गर्दै खोज तथा उद्धार एवं राहत वितरणका लागि समन्वयात्मक ढङ्गबाट अगाडि बढ्न एकीकृत तालिमको आवश्यकता महसुस गरी पहिलो पटक यस्तो तालिम ल्याएको बताए । मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पको पीडा भुल्न नपाउँदै जाजरकोटको भूकम्प, गत वर्षको यति एयरलाइन्सको दुर्घटना र हालै मात्र भएको मुस्ताङ, कागबेनीको बाढीपहिरो जस्ता दैवीप्रकोपका घटनाबाट ठुलो क्षति भएको उल्लेख गरे । उनले आगलागी समस्या झनै जटिल बन्दै गएकाले यस्ता विपतजन्य घटनाको न्यूनीकरणमा उचित व्यस्थापन गरी समुदायसमेत यस्ता कार्य लैजाने मुख्यमन्त्री पाण्डेले बताए ।

गत वर्ष देशभर तीन हजार ८१४ स्थानमा आगलागी भएको र ११२ जनाले ज्यान गुमाउनु परेको थियो भने झन्डै १२ सय घर पूर्ण रूपमा क्षति भएका थिए । सो आगलागीमा दुई अर्ब ६५ करोड बराबरको क्षति भएको अनुमान थियो । गण्डकी प्रदेशमा मात्रै २७० स्थानमा आगलागीका घटना भएका थिए भने १० जनाको मृत्यु भएको थियो । जसमा गण्डकी प्रदेशमा मात्रै नौ करोड रुपियाँ बराबरको क्षति भएको थियो। पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति दीपककुमार बानियाँले उद्धार कार्यमा खटिने सुरक्षाकर्मीले सुरक्षा र सावधानीमा सम्झौता गर्न नहुने बताउँदै रामेछापको आगलागी नियन्त्रण गर्दा १० जना सुरक्षाकर्मी गुमाउन परेको तितो यथार्थ सुनाए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर