जाजरकोट भूकम्प : ‘फिल्ड’ मा रहेका स्थानीय र संघीय सरकारका प्रतिनिधि के भन्छन्?

प्रहरी भन्छ- ८० प्रतिशत पीडितले राहत पाइसके, क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ

कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्लामा पुगेको क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार भूकम्पले ५ हजार ५६१ सार्वजनिक तथा निजी भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० हजार ८७१ भवनमा आंशिक क्षति पुगेको छ।

यस्तै भूकम्प प्रभावित २२९ घरधुरीका ९१५ परिवार सदस्यले प्रारम्भिक चरणको राहत पाएका छन्।

भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने घाइते भएका ३७२ जनामध्ये २८३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल ८९ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

उपचारत घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। ४२ जनाको अवस्था मध्यम र ३९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले ८० प्रतिशत भूकम्पपीडितले प्रारम्भिक चरणको राहत पाइसकेको र भूकम्पबाट भएको भौतिक क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको पर्दाफाससँग बताए।

डीआईजी ढकालका अनुसार भूकम्प गएलगत्तै रातिदेखि नै उद्धार कार्यमा प्रहरी परिचालित भएको थियो। त्यसको भोलिपल्ट कात्तिक १८ गते दिउँसोसम्ममा उद्धार कार्य सकिएको थियो।

भूकम्पमा परी मृत्यु भएका सबैको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइसकिएको उनले बताए।

हाल राहत वितरण कार्यमा पनि प्रहरी टोली फिल्डमै खटिएर सहयोग गरिरहेको डीआईजी ढकालको भनाइ छ। उनका अनुसार राहत संकलन, सूचना संकलन, राहत ढुवानी, राहत वितरणलगायतमा प्रहरीले फिल्डमै रहेर काम गरिरहेको हो।

सरकारले सबैलाई समेट्ने गरी राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ। यद्यपि, यसबीच कतिपय भूकम्पपीडितले राहत नपाएको र राहत वितरण सदरमुकाम केन्द्रित भएको गुनासो गरिरहेका छन्। यस सम्बन्धमा के-कसो भएको हो भन्नेबारे पर्दाफासले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बुझ्ने प्रयास गरेको छ।

जाजरकोटको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले प्राप्त राहत सामग्री प्राथमिकतका आधारमा वितरण भइरहेको र राहत सामग्री पर्याप्त नरहेको बताए। ‘राहत प्रशस्त्र मात्रामा पुगेको छैन। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त राहत नगरपालिकामा बुझेर सम्बन्धित वडाका वडाध्यक्षमार्फत वितरण भइरहेको छ,’ उनले पर्दाफाससँग भने।

उनका अनुसार छेडागाड नगरपालिकामा करिब २५ सय घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् र ती घरका सदस्यहरू घरबाहिर अस्थायी आवासलगायतमा बसोबास गरिरहेका छन्।

यस्तै बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले कतिपयले राहत नपाएको गुनसो गरेको स्विकार्दै प्राथमिकताका आधारमा राहत वितरण गर्दा कम प्रभावितहरूले राहत पाउनमा केही ढिला भएको हुनसक्ने बताए।

‘कतिपयले राहत पाउन नसकिरहेको गुनासो गरेको सत्य हो। तर, प्रभावितहरूको वर्गीकरण गरेर प्राथमिकताका आधारमा राहत वितरण गरिरहेका छौं,’ उपाध्यक्ष गिरीले भने, ‘पाउनुपर्नेेले नपाउने र नपाउनुपर्नेले पाउने अवस्था नआओस् भनेर सचेतताका साथ राहत वितरण भइरहेको छ। बढी प्रभावितहरूले पहिला राहत पाउने हुँदा कम प्रभावितहरूले राहत पाउनमा समय लागेको हुनसक्छ।’

त्यसैगरी नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकले भूकम्पले नगरपालिकाका १३ वटै वडा प्रभावित भएको बताउँदै प्राप्त राहत सामग्री प्राथमिकता निर्धारण गरेर वितरण भइरहेको जानकारी दिए।

उनले अहिले मौज्दात तथा वितरित राहत सामग्री पर्याप्त नहुने बताए।

‘नगरपालिकाका १३ वटै वडा भूकम्पबाट प्रभावित छन्। घरहरू भत्के-चर्केकाले भित्र जाने अवस्था छैन। मानिसहरू खुला आकाशमुनि बस्न बाध्य छन्,’ निमित्त प्रमुख प्रशासकीय अधिृकत विकले भने, ‘प्राप्त राहत सामग्री प्राथमिकताका आधारमा वितरण भइरहेको छ तर पर्याप्त छैन। प्रभावितहरूलाई त्रिपाल, कम्बललगायत राहत सामग्री वितरण भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर