हङकङ निर्यात हुँदै नेपाली फूल

नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ । तिहार नजिकिँदै गर्दा नेपाली मूलका नागरिक बसोवास गर्ने देश र स्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ ।

यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात बिहीबार थालियो । कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले ती फूलमाला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाउँदै छ । फर्मका सञ्चालक गोविन्द बास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार वटा माला र दुई क्विन्टल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिए ।

“हामीले अन्तर्राष्ट्रिय बजारमा फूल निर्यातको खोजी गरिरहेका थियौँ। यही क्रममा नेपाली मूलका नागरिकको बाहुल्य रहेको हङकङमा पहिलो पटक सयपत्री र मखमली माला र फूल निर्यात गर्न लागेका हौं,” उहाँले भन्नुभयो । भारतीय फूलले नेपाली बजारमा गरेको हस्तक्षेपकै कारण फूलको कारोबार के हुने भन्ने चिन्ता भइरहेका बेला हङकङ निर्यातले राहत दिने बास्तोलाको भनाइ छ ।

हङकङ लगिने फूललाई ुग्रेडिङ र प्याकेजिङ मा विशेष ध्यान दिइएको छ । माला हङकङ निर्यात गर्ने व्यवसायी कमल सुवेदीले फूललाई व्यवस्थित ढङ्गले चिसो बरफसहितको प्याकेजिङ गरिएको जानकारी दिनुभयो । हङकङमा नेपाली फूल र मालाको माग
बढ्दो रहेको पनि उहाँले जनाउनुभयो। हङकङ लैजान लागेको फूलमालाको मूल्य प्रतिकिलो ४५० रुपियाँमा खरिद गरिएको पनि उहाँले जानकारी दिए।

माला निर्यातको शुभारम्भ गर्दै कालिका नगरपालिकाका प्रमुख विनोद ढकालले भारतीय फूल नेपालमा भित्रिइरहेका बेला नेपाली फूलले विश्व बजार खोज्नु स्वाभाविक रहेको बताउनुभयो । फर्मले पदमपुरमा तीन बिघा पाँच कट्ठा क्षेत्रफलमा फूल खेती गरेको छ ।

यस वर्ष चितवनमा भने ५० बिघाभन्दा बढी क्षेत्रफलमा फूल खेती गरिएको छ । जसबाट दुई लाख माला उत्पादन भएको बताइन्छ ।
३० करोडको फूलमाला बेचिने यस वर्षको तिहारमा नेपालभर ३० करोडको फूलमाला बिक्री हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपालको छ । यस वर्षं तीन अर्ब ५० करोड रुपियाँको फूलमालाको कारोबार हुने लक्ष्य लिइएकामा तिहारमा मात्रै ३० करोडको कारोबार हुने अनुमान गरिएको हो ।
एसोसिएसनका अध्यक्ष् मीनबहादुर तमाङले यस वर्ष सयपत्रीको माला १२५ रुपियाँ, मखमलीको ७० रुपियाँ, गोदावरीको मात्रै एक हजार रुपियाँ र गोदावरी मिक्स गरेको माला चार सय रुपियाँमा कारोबार भइरहेको पनि उनले बताए ।

यस वर्ष नेपालमा ४० लाख माला खपत हुने छ । जसमध्ये गोदावरी मिसिएको माला ५० हजार, मखमली चार लाख ५० हजार र सयपत्री ३५ लाख माला नेपालमै खपत हुने छ । नेपालमा खपत हुनेमध्ये पाँच लाख माला मात्रै नेपालको उत्पादनमा कमी हुने पनि उनले जानकारी दिए ।

भारतबाट आउने अवैध फूलको आयत रोक्न माग गर्दै उहाँले वैध तरिकाले भन्सार तिरेर आयत भएको फूलसँग आफूहरू प्रतिस्पर्धा गर्न चाहेको पनि उनले बताए ।

एसोसिएसनका अनुसार अघिल्लो वर्ष नेपालमा तीन अर्ब सात करोड रुपियाँको फूलको कारोवार भएको थियो । जसमध्ये ३३ करोड रुपियाँ बराबरको आयात र अन्य नेपाली बजारकै फूलको मूल्य हो । गत एक वर्षमा ६५ लाख रुपियाँ बराबरको फूल निर्यात भएको छ ।

नेपाली फूलमा विगतमा सबैभन्दा बढी क्यालिलियम फूलको गानो निर्यात भएको छ । यसका साथै गुलाफ र ग्ल्याडुडस फूल पनि निर्यात हुने गरेकामा अहिले ती फूलको व्यापारमा ठुलो गिरावट आएको बताइन्छ ।

बढी बिक्री हुने फूलको कारोबार घटिरहेका बेला मौसमी फूलको अन्तर्राष्ट्रिय निर्यातले व्यवसायीमा केही आशा पालाएको एसोसिएसनका अध्यक्ष तमाङको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर