‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजरायलबाट फर्किए

गत वर्ष रूसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजरायली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन्।

उनका पतिले विगतमा इजरायलमा काम गरेका थिए। आफ्ना तीन छोराछोरीलाई रूसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ भन्ने उनले सोचेकी थिइन्। तर, त्यसपछि अक्टोबर ७ आयो जुन दिन हमासले इजरायलमाथि हमला गर्‍यो। इजराइल र हमासबीचको युद्धमा हजारौं मानिस मारिए।

हजारौं अन्य युक्रेनी शरणार्थीको जस्तै ३९ वर्षीया कोचेभा पनि दोस्रो पटक युद्धबाट भागिन्। उनले भनिन्, ‘यदि म मारिएँ भने कम्तीमा पनि मेरो जन्मभूमिमा हो।’ सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्दा कोचेभाले खार्किभमा बेसमेन्टमा लुकेर १० दिन बिताइन्। खार्किभ झन्डै रूसी सेनाको हातमा परेको थियो।

रूसी आक्रमणको पाँच महिनापछि उनको परिवार इजरायल प्रस्थान गर्‍यो। उनीहरूले गाजाबाट करिब १० किलोमिटर टाढा अश्कलोनमा नयाँ जीवन सुरू गरे। करिब एक हजार दुई सयको ज्यान जाने गरी हमासले गरेको अचानक आक्रमणपछि उनले अश्कलोन छोड्नुपर्छ भन्ने महसुस गरिन्। उनले भनिन्, ‘मेरो हात काँप्न थाल्यो र मेरो मुलुकमा युद्ध सुरू हुँदा भएको जस्तो अनुभूति मलाई भयो।’

त्यसपछि इजरायलले गाजापट्टीमा सैन्य कारबाही सुरू गर्‍यो। प्यालेस्टिनी लडाकु समूह हमासका अनुसार इजरायली कारबाहीमा अहिलेसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन्।

कोचेभा अनन्त साइरन र विस्फोटहरू सम्झिँदै फेरि आश्रयस्थलमा सुतिन्। त्यसपछि उनले त्यहाँबाट भाग्नुपर्छ भन्ने निर्णय गरिन्। ‘जब साइरन र विस्फोटका घटना तीव्र हुन् थाल्यो, म आत्तिएँ,’ उनले भनिन्, ‘म डराएँ, मलाई घर आउनुपर्छ भन्ने महसुस भयो।’

परिवारलाई मध्य इजरायलमा सारिएको थियो। खार्किभ जानुअघि धेरै दिन उनीहरू त्यहाँ बसे। युक्रेनको नियन्त्रणमा रहे पनि खार्किभमा युद्ध अझै पनि जीवनको एउटा विशेषता हो। रूसी आक्रमणबाट उक्त सहर अझै प्रभावित हुन्छ। साइरन अहिले पनि जीवनको नियमित हिस्सा भएको छ।

तर। कोचेभाका लागि खार्किभ फर्किनु राहतको कुरा थियो। ‘म यहाँ हिँड्छु, यो मेरा जन्मभूमि हो, मेरो झन्डा हो, यसलाई कसरी व्यक्त गरौँ मलाई थाहा छैन, म खुसी छु,’ उनले भनिन्।

हमासको आक्रमपछि करिब चार हजार युक्रेनीले इजरायल छोडेको किएभले बताएको छ।

राजधानी किएभमा अन्ना ल्यास्को र उनकी आठ वर्षीया छोरी पनि इजराइलबाट फर्किएका छन्। उनीहरू गत मार्चमा रुसको आक्रमणको पहिलो सातामा इजरायल भागेका थिए। ‘हामी किएभका ती इलाकाको नजिकै बसिरहेका थियौं जुन रूसी सेनाको सुरूको आक्रमणमा परेको थियो, हामी बिजुली, पानी र सञ्चारबिना बसिरहेका थियौं,’ २८ वर्षीया ल्यास्काले भनिन्, ‘मेरी छोरी धेरै डराइन् र मैले छोड्ने निर्णय गरेँ।’

उनले छोरीलाई इजरायल लैजाने निर्णय गरिन् जहाँ उनका आफन्त थिए। तर, गत महिना इजरायलमा द्वन्द्व सुरू भएपछि उनलाई रूसले युक्रेनमा आक्रमण गरेको दिन स्मरण भयो।

‘मेरो पहिलो भावना युक्रेनमा फेब्रुअरी २४ (२०२२) मा जस्तै थियो,’ उनले भनिन्, ‘कसैले मलाई बिहान फोन गरेर भन्यो- अन्ना, युद्ध सुरू भएको छ। यो मैले युक्रेनमा महसुस गरेको जस्तै थियो, मेरी छोरीको आँखामा डर थियो र उनले बस्न सकिन्न भन्ने बुझिन्।’

उनीहरू युक्रेनी दूतावासको सहयोगमा एक सातापछि तेल अविवबाट बाहिर निस्किए। उनकी छोरी किएभ पार्कमा झरेका पातहरूमा खेल्दै गर्दा ल्यास्कोले आफूहरू घरमा खुसी भएको र परिवारसँग पुनर्मिलन भएको बताइन्।

किएभमा निप्रा नदीको विपरीत किनारमा आफ्नो कार्यालयमा बसेकी आक्साना सोकोलोभ्सकाले रूसको आक्रमणबाट भाग्दा इजरायल ‘विश्वको सबैभन्दा सुरक्षित देश’ होला भन्ने आफूले सोचेको बताइन्। सन्तान भएका महिलाजस्तै ३९ वर्षीया सोकोलोभ्स्काले पनि गत वर्ष युद्धको सुरूआतमा आफ्ना तीन छोराछोरीसँगै युक्रेन छोडेकी थिइन्।

‘मलाई उनीहरूको जीवन जोखिममा पार्ने कुनै अधिकार थिएन,’ उनले भनिन्। हिब्रु बोल्ने भएकाले उनले इजरायललाई आफ्नो गन्तव्य रोजिन् र उनीहरू तेल अविव नजिकैको रिसोन लेत्सियनमा बस्न थाले। तर, उनले पनि अक्टोबर ७ पछि आफ्ना छोराछोरीसँगै एउटा आश्रयस्थलमा बिताइन्। ‘ठूलो मात्रामा बमबारी सुरू भयो,’ उनले भनिन्।

फेरि तुरून्तै उनले इजरायल छोड्ने निर्णय गरिन्। ‘एउटा युद्धका लागि अर्को युद्धलाई छोड्न कठिन हुन्छ,’ उनले एएफपीलाई भनिन्। यद्यपि, फेरि पनि साकोलोभ्स्का घर आएर खुसी थिइन् । रूसी आक्रमणको करिब दुई वर्षपछि उनले भनिन्, ‘अहिले किएभमा इजरायलको तुलनामा स्थिति शान्त छ, यही एक मात्र कारणले म घर फर्किएँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर