एनआरएनएका पदाधिकारी र प्रहरीका आफन्त जुवाखालबाट पक्राउ, छुटाउन प्रभाव र दबाब

काठमाडौंमा आइतबार राति जुवाखालबाट हाइप्रोफाइल व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, बहालवाला प्रहरी अधिकृतका आफन्तलगायत छन्।

प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका-३, ठूलोभर्‍याङ, एकधारास्थित केशव अधिकारीको घरबाट हाइप्रोफाइलसहित २२ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूका साथबाट नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

पक्राउ परेका हाइप्रोफाइलहरूमा एनआरएनएका पूर्वउपाध्यक्ष तथा गत ११ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य रहेका टेकबहादुर (टीबी) कार्की, एनआरएनएमै आबद्ध सञ्जय मुडभरी, काठमाडौंमा कार्यरत बहालवाला प्रहरी अधिकृतका सहोदर भाइ राजु जीसी, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी छन्।

यस्तै सरोज अधिकारी, श्यामबाबु तामाङ, नवराज तामाङ, चित्र तामाङ, विष्णुलाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, लोकबहादुर बोहरा, केशवराज अधिकारी, भरत बोहरा, विशाल तामाङ, विकास खत्री, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, रामबहादुर लामा र लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।

स्रोतका अनुसार हाइप्रोफाइल पक्राउ परेपछि उनीहरूलाई जोगाउन प्रहरीलाई पहुँचवालाहरूबाट दबाब र प्रभाव आइरहेकाे छ।

यसबारे प्रहरी अधिकृतहरूसँग बुझ्न खोज्दा उनीहरूले खुलेर बताउन चाहेनन्। पक्राउ परेका हाइप्रोफाइलहरूलाई थुनाबाहिरै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी वृत्त स्वयम्भूकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्दले पक्राउ परेकाहरूमाथि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको बताइन्।

जुवातास खेल्ने वा खेलाउने कार्यलाई नेपालको कानुनले अपराध मानेको छ। मुलुकी अपराधसंहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरिएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर