अध्ययनको निष्कर्ष

रातो मासुको सेवनले बढाउँछ मधुमेहको जोखिम

चाडपर्वमा मासुको सेवन अरू बेलाको तुलनामा बढी हुने गर्छ। स्वाद र स्वास्थ्य दुवैका लागि खाइने मासुको असन्तुलित उपभोग भएमा भने यो स्वास्थ्यका लागि उल्टै हानिकारक हुन पुग्छ।

हालै दसैं सकिएर अहिले तिहार मनाइँदै छ। चाडबाडमा मात्र नभई दैनिक रूपमा मासुको उपभोग भइरहेकै हुन्छ। मासु प्रोटिनको मुख्य स्रोत पनि हो।

हामीले मासु खाँदा कस्तो र कति मात्रामा खाने भन्ने कुरा ख्याल गर्न जरूरी हुन्छ। सामान्यतया सेतो मासु स्वास्थ्यवर्द्धक मानिन्छ।

स्मरण रहोस्, हार्वर्ड टीएच चान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको नेतृत्वमा हालै गरिएको एक नयाँ अध्ययनले हप्तामा दुई पटक मात्र रातो मासुको सेवन गर्दा पनि त्यसले टाइप २ डाइबेटिज (मधुमेह) को जोखिम बढाउने देखाएको छ।

यो अध्ययन गत अक्टोबर १९ मा द अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित भएको थियो।

‘हाम्रो निष्कर्ष रातो मासुको खपत सीमित गर्न सिफारिस गर्ने आहार दिशानिर्देशहरूलाई दृढतासाथ समर्थन गर्दछ, र यो प्रशोधित र अप्रशोधित रातो मासु दुवैमा लागू हुन्छ,’ पहिला लेखक पोषण विभागमा पोस्टडक्टोरल अनुसन्धानकर्ता चिओ गुले भने।

अघिल्ला अध्ययनहरूले रातो मासुको खपत र टाइप २ मधुमेहको जोखिमबीचको सम्बन्ध फेला पारेको थियो, उक्त अध्ययनले वर्षको एक विस्तारित अवधिका लागि सहभागीहरूबीच टाइप २ मधुमेहको मामिलामा विश्लेषण गरेको थियो।

विश्वव्यापी रूपमा टाइप २ मधुमेहको दर तीव्र गतिमा बढिरहेको छ। यो रोग एक गम्भीर बोझ मात्र नभई हृदय र मृगौला रोग, क्यान्सर, र डिमेन्सियाका लागि एक प्रमुख जोखिम कारक पनि हो।

यस अध्ययनका लागि शोधकर्ताहरूले नर्सेस हेल्थ स्टडी (एनएचएस), एनएचएस २, हेल्थ प्रोफेसनल फलोअप स्टडी (एचपीएफएस) का २ लाख १६ हजार ६९५ जना सहभागीहरूको स्वाथ्य तथ्यांक विश्लेषण गरे।

३६ वर्षसम्म प्रत्येक दुईदेखि चार वर्षमा खाद्य आवृत्ति प्रश्नावलीका साथ आहारको मूल्यांकन गरिएको थियो। यस समयमा, २२ हजारभन्दा बढी सहभागीहरूमा टाइप २ मधुमेह देखियो।

शोधकर्ताहरूले पत्ता लगाए कि रातो मासुको खपत (प्रशोधित र अप्रशोधित रातो मासुसहित) टाइप २ मधुमेहको बढ्दो जोखिमसँग जोडिएको थियो।

सबैभन्दा धेरै रातो मासु खाने सहभागीहरूलाई कम खानेहरूको तुलनामा टाइप २ मधुमेह हुने खतरा ६२ प्रतिशत बढी देखियो।

प्रशोधित रातो मासुको प्रत्येक अतिरिक्त दैनिक सेवनमा टाइप २ मधुमेह विकासको ४६ प्रतिशत उच्च जोखिम र अप्रशोधित रातो मासुको प्रत्येक अतिरिक्त दैनिक सेवनमा २४ प्रतिशत उच्च जोखिम रहने पाइएको थियो।

अन्वेषकहरूले प्रोटिन स्रोतका लागि रातो मासुको सेवनलाई प्रतिस्थापन गर्ने सम्भावित खानेकुरा पनि पत्ता लगाए। उनीहरूले काजु र फलफूलले ३० प्रतिशत र दुग्धजन्य परिकारले २२ प्रतिशत मधुमेहको जोखिम कम गर्ने पत्ता लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर