सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ देखि काठमाडौंमा

नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि काठमाडौंमा हुने भएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने जानकारी दियो ।

पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ ।

क्याडेट, जुनियर, यू-२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरूङले जानकारी दिए । क्याडेटमा १२, जुनियरमा १५, यू-२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

जम्मा ३ सय ५३ खेलाडीको सहभागिता रहने जनाइएको छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।

खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिता अघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर