मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा सम्मान

वि. सं. २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन्। ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य संघ, हाम्रो पत्र डटकमलगायतका संघसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

लेखक ओझाले ‘ऐँठन’ एउटा युद्ध उपन्यास भएको बताए। उनले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए। ‘मैले युद्धपछि पीडामा रहेकाहरूलाई देखेँ, भेटेँ, उनीहरूको मानसिक अवस्था विचलित भएको पाएँ,’ उनी भन्छन, ‘विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ। यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ। गाउँगाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु।’

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्ण रूप दिन पाँच वर्ष लागेको बताए। ‘कष्टकर रूपमा बितेका पाँच वर्षपछि अहिले राहत महसुस भएको छ,’ उनी भन्छन्। उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो। ‘ऐलानी’ वादी समुदायका कथा समेटिएको पुस्तक थियो। त्यो उपन्यासविरूद्ध सर्वोच्चमा मुद्दा परेको थियो। ‘इतिहासमा साहित्यिक उपन्यासविरूद्ध यो पहिलो मुद्दा थियो,’ लेखक ओझाले भने।

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए। ‘यो टीकापुरका लागि गौरवको कुरा हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ,’ उनले भने, ‘यस्ता सर्जकलाई हौसला दिनुपर्छ।’

वीरेन्द्र विद्यामन्दिर माविका सहप्राचार्य डा. योगेन्द्रप्रसाद बजगाईंले आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकले देशकै सर्वोत्कृष्ट मानिने मदन पुरस्कार प्राप्त गरेकामा आफूलगायत विद्यालयले गर्व महसुस गरेको बताए। ‘विद्यालय परिवार खुसी छ, ओझा हाम्रो विद्यार्थी हो भन्दा विद्यालय हर्षित छ,’ उनी भन्छन्, ‘उहाँको लेखन क्षमता थप सशक्त भएर अघि बढोस्।’

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजलसंग्रह २०७० सालमा प्रकाशित भएको थियो। त्यसपछि उनले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखे। वि. सं. २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो। उनले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गरेका हुन्। पछि काठमाडौं आएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर