अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको गुमेकाे आत्मविश्वास फिर्ता ल्याउन महासँघकाे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र सुधारका लागि सबैभन्दा पहिला सरकारले व्यवसायीहरुको गुमेकाे आत्मविश्वास फिर्ता ल्याउन आवश्यक रहेको सुझाव दिएको छ ।

उसले व्यवसायीहरुको आत्मविश्वास बढाउन राज्यले पुँजीगत खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक रहेकाले त्यसतर्फ सरकारी संयन्त्र लाग्न सुझाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाको बिषयमा मंगलबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार र नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामबारे सुझाव दिएका हुन्।

अध्यक्ष ढकालले अर्थतन्त्रको समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र घोषणा गर्नपनि पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

महासंघले वर्तमान अवस्था र गर्नुपर्ने सुधारका विषयमा देशैभरका व्यवसायी तथा सदस्य संघसंस्थाहरूसँग लिएको सुझावसमेत समेटेर सरकारलाई सुझाव दिएको हो।

अध्यक्ष ढकालले कामलाई तीव्रता दिनुपर्ने समयमा विभिन्न ढंगले अराजक गतिविधि बढ्न थालेको बताए । उनले अराजक गतिविधिलाई कुनै पनि हालतमा नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘यसलाई समयमै नियन्त्रण गरिएन भने मुलुकभित्र मात्र होइन बाहिरबाट आउने पर्यटक र विदेशी लगानीलाई पनि गलत म्यासेज जान्छ’, उनले महासँघका तर्फबाट गरेको सम्बोधनमा भने । यस्तै शान्ति सुरक्षा, लगानी सुरक्षा र लगानीकर्तालाई उत्प्रेरणा हुने वातावरण बनाउन जरुरी रहेको तर्फपनि महासँघले सरकारको ध्यानाकर्षण गरेको छ ।

यस्तै अध्य ढकालले नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकाको संशोधनमार्फत साझेदारलाई पनि वाच लिस्टमा राख्ने र कालोसूचीबाट बाहिर निस्किन ६ महिना लाग्ने प्रावधान ल्याएकोले व्यवसायी हतोत्साही भएको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो सम्बोधन मार्फत गराए ।

उनले नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स भएको तर, त्यही रेमिट्यान्स ग्रामीण क्षेत्रसम्म पुग्न नसकेको यथार्थ राखे। ‘आन्तरिक रेमिट्यान्स सेवा बन्द हुँदा गाउँ–गाउँसम्म पैसा नपुग्दा ग्रामीण अर्थतन्त्र शिथिल जस्तै भएको छ। यसले ग्रामीण क्षेत्रका साना तथा मझौला व्यवसायलाई समस्यामा पारेको छ। गाउँसम्म सहजै रकम पुग्ने संयन्त्र रोकिनु हुँदैन,’ अध्यक्ष ढकालले भने ।

यस्ता छन् सुझाव :

अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने काम
सरकारको तर्फबाट गर्नुपर्ने
१. अहिले व्यवसायीहरुको कन्फिडेन्स लुज भएको छ। व्यवसायीहरुको कफिन्डेन्स बढाउन राज्यले पुँजीगत खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक छ।

  • सरकारी पुँजीगत खर्चको वृद्धिदर गत आर्थिक वर्षको पहिलो ३ महिनामा १८.६ प्रतिशतले बढेकोमा यस आर्थिक वर्ष ०.९ प्रतिशतले मात्र बढेको तथ्यांक छ। आर्थिक गतिविधि सुस्त हुनुमा यो पनि एक प्रमुख कारण हो। त्यसैले सरकारको पुँजीगत खर्च बढाउन जरुरी छ। वर्षा र मुख्य चाडपर्व पनि सकिए। अब खर्च बढाउन कामलाई गति दिने समय आएको छ।
  • अब कामलाई तीव्र गर्नुपर्ने समयमा विभिन्न ढंगले अराजक गतिविधि बढ्न थालेको देखिन्छ। अराजक गतिविधिलाई कुनै पनि हालतमा नियन्त्रण गर्न जरुरी छ। यसलाई समयमै नियन्त्रण गरिएन भने मुलुकभित्र मात्र होइन बाहिरबाट आउने पर्यटक र विदेशी लगानीलाई पनि गलत म्यासेज जान्छ।
  • शान्ति सुरक्षा, लगानी सुरक्षा र लगानीकर्तालाई उत्प्रेरणा हुने वातावरण बनाउन जरुरी छ।
  • सरकारले अहिले आन्तरिक ऋण उठाएको छ। यो पनि खर्च भएको छैन। सरकारले आन्तरिकका साथै बाह्य ऋण लिएर विकासका कामलाई तीव्ररुपमा अघि बढाउनुपर्छ। क्रेडिट रेटिङ गरी विदेशी लगानी यो समयमा लगानी बढाउने र आर्थिक गतिविधि बढाउन सकेमात्र व्यवसायीको मनोबल उच्च बनाउन सकिन्छ।
  • अहिले विद्युत उत्पादन पर्याप्त छ। पर्याप्त रुपमा रहेको बिजुलीको खपत बढाउनु जरुरी छ।
  • अहिलेका लागि उद्योगलाई सहुलियत दिँदा दोहोरो फाइदा हुनेछ। साथै उत्पादित बिजुली प्रसारण लाइनका कारण प्राधिकरणले खरिद गर्न सकिरहेको छैन।
  • भूतप्रभावी कानुन र अस्थिर नीतिगत व्यवस्थाले आन्तरिक तथा बाह्य लगानीलाई दुरुत्साहन गर्छ। त्यसैले यसतर्फ राज्यले लचिलो व्यवस्था मिलाउनुपर्छ।
  • पर्यटन प्रवर्धनका कार्यक्रमबाट छोटो समयमा अधिकतम फाइदा लिन सकिने हुन्छ। यसलाई प्राथमिकतामा राख्नुपर्‍यो। निर्माण सम्पन्न भएका विमानस्थलहरुलाई सञ्चालनमा ल्याउने र निर्माणाधीन राजमार्गहरुलाई छिटो सम्पन्न गर्दै सडक यातायातलाई सहज बनाउनुपर्छ।
  • केही खास प्राविधिक विषयहरु जस्तै- नर्सिङ कलेज खोल्न रोक्दा विद्यार्थीहरु भारतीय सीमा क्षेत्रमा गएर पढ्न बाध्य छन्। यसरी विद्यार्थी बाहिर जाँदा एकातर्फ मुलुकभित्र लगानी, रोजगारी बढ्न सकेको छैन भने विदेशी मुद्रा बाहिरिएको छ। यसमा निर्णायक कदम चाल्ने समय आइसकेको छ।
  • व्यवसायीले पुँजीगत खर्चको सिलसिलामा गर्ने खर्चहरुमा ठूलो अंशमा सरकारलाई भ्याट दाखिला गरिआएका छन् तर आय आर्जन गर्न उल्लेख्य समय लाग्ने भएकाले आउटपुट ट्याक्स को दायित्व नहुने र उल्लेख्य रुपमा स्रोतमा तिरिरहेको भ्याट क्रेडिट रहिरहेको अवस्था छ। जसले गर्दा निजी क्षेत्रलाई पुँंजीगत लगानीको स्रोत व्यवस्थापन गर्न थप कठिन बनाएको छ। यस्तो समस्या खास गरेर होटल, पूर्वाधार विकास आयोजना लगायत दीर्घकालीन लगानीमा हुने व्यवसायमा बढी देखिएको छ। सरकारमा अग्रिम रुपमा जम्मा भएको मूल्य अभिवृद्धि कर रकम तत्काल व्यवसायीलाई फिर्ता गर्ने व्यवस्था भएको खण्डमा सो रकमले पुँजीगत लगानीमा सहजता हुन जाने निश्चित छ।
  • मूल्य अभिवृद्धि कर ऐनको दफा २४ मा यसरी लगातार ४ महिनासम्म दाखिल गर्नुपर्ने कर रकममा मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले फिर्ता पाउन सक्ने ब्यबस्था भए पनि व्यवहारिक रूपमा सो हुन सकेको छैन। तसर्थ सरकारले नीतिगत रुपमा यस्तो अधिक दाखिला भएको कर रकम सहज रुपले फिर्ता गर्ने वातावरण तयारी गर्नुपर्ने देखिन्छ। यसले पुँजीगत खर्चमा बढाउन सहयोग गर्छ जसले गर्दा राष्ट्रको आर्थिक गतिविधिलाई थप टेवा पुग्न जान्छ।

नेपाल राष्ट्र बैंक

  • अर्थतन्त्रलाई चलायमान बनाउन सहरदेखि गाउँ-गाउँसम्म पुँजी प्रवाहलाई चलायमान बनाउनुपर्ने छ। त्यसका लागि गाउँ-गाउँसम्म पुँजी प्रवाहमा देखिएका अवरोधहरु हटाउनु पर्छ।
  • जिल्ला जिल्लामा रहेका साना तथा मझौला व्यवसायलाई प्रवाह हुने कर्जालाई सहज बनाउनु पर्‍यो। जस्तै- घरकर्जालाई सरल र सुलभ बनाउन सकेमा यसले सिमेन्ट, छडदेखि फर्निचरसम्मका उद्योगलाई चलायमान बनाउन सघाउँछ भने व्यापक मात्रामा रोजगारी पनि सृजना हुनसक्छ।
  • बैंकहरुको फिक्स्ड डिपोजिटको ब्याजदर कम गर्न अबको केही दिनमा हुन लागेको मौद्रिक नीतिको समीक्षामा नेपाल राष्ट बैंकले केही उपकरणहरु ल्याउन सक्छ। फिक्स डिपोजिटको ब्याज बढी हुँदा बैंकमा पैसा राखेर ब्याज खाने प्रचलन बढेको छ। पैसा बजारमा चलायनमान हुने, उत्पादनमूलक या अरु केहीमा लगानी नहुने भयो।
  • कृषि, पर्यटन पूर्वाधार र आइसीटी लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा पुर्नकर्जा र करमा सहुलियत सहितको प्याकेज आवश्यक छ।
  • नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स हो। तर, त्यही रेमिट्यान्स ग्रामीण क्षेत्रसम्म पुग्न सकेको छैन। आन्तरिक रेमिट्यान्स सेवा बन्द हुँदा गाउँ-गाउँसम्म पैसा नपुग्दा ग्रामीण अर्थतन्त्र शिथिल जस्तै भएको छ। यसले ग्रामीण क्षेत्रका साना तथा मझौला व्यवसायलाई समस्यामा पारेको छ। गाउँसम्म सहजै रकम पुग्ने संयन्त्र रोकिनु हुँदैन।
  • नेपाली समाज ऋण नतिर्ने समाज होइन। तर पछिल्लो समय ऋण नतिर्ने सम्मको आवाज उठिरहेको छ। यो उचित होइन। त्यसैले यसको समाधानका लागि बैंकहरुलाई ऋणीको अवस्था हेरि केही समयका लागि पुर्नसंरचना र पुर्नतालिकीकरण लगायतको अधिकार दिनु आवश्यक छ।
  • साना तथा मझौला कर्जालाई बैंकले आफैं अध्ययन गरेर ऋण दिन सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ। चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था पनि बैंक वित्तीय संस्थाले नै निर्णय गर्नेगरि छोडनु उपयुक्त हुन्छ।
  • हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकाको संशोधनमार्फत साझेदारलाई पनि वाच लिस्टमा राख्ने र कालोसूचीबाट बाहिर निस्किन ६ महिना लाग्ने प्रावधान ल्याएको छ। यसले व्यवसायी हतोत्साही छन्।
  • समग्रमा कोभिड तथा रसिया-युक्रेन युद्धपछि विश्वका अधिकांश मुलुकमा देखिएको आर्थिक शिथिलतालाई कम गर्न मुलुकहरुले आफ्नो तर्फबाट नयाँ नयाँ उपायहरु लिएका छन्। यसै सन्दर्भमा हिजो मात्र ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले बेलायती अर्थतन्त्र सुधारका लागि ५ वटा बुँदा लेखेका छन् । ऋण घटाउने‚ कर घटाउने र कामलाई सम्मान गर्ने‚ घरेलु र दिगो ऊर्जा निर्माण‚ बेलायती व्यापारलाई समर्थन र विश्वस्तरीय शिक्षा दिने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *