ओलीको ‘फेक-पुराण’ सुनाउन २४ विद्यालय बन्द!

ओलीको भाषण सुनाउन २४ वटा विद्यालयहरू मंगलबार बन्द गरिए। बन्द गरिएका दुईवटा माध्यमिक, ४ निम्न माध्यमिक र १८ प्राथमिक विद्यालयमा १० हजार छात्र-छात्राहरू पढ्छन्।

भनिन्छ, ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’। बोल्नु भनेको कला हो। तर, माइक र मञ्च पाएपछि पूर्वप्रधानमन्त्री केपी ओलीको आम जनमानसलाई मन्त्रमुग्ध बनाउने गजबको कला छ। तर, उनले गर्ने भाषणमा यथार्थभन्दा ‘ख्याली पुलाव’ (सपनामा पुलाव पकाउने र कल्पनाको संसारमा रमाउने) खालको हुने सर्वविदित छ। पदमा गएपछि भाँती पुर्‍याएर बोल्नु त्यति सजिलो पनि छैन, विपक्षमा बसेपछि ‘फेक-पुराण’ जति सुनाए पनि हुन्छ। राजनीतिक नेता भएपछि नबोली सुखै छैन, केपी ओलीको पोखरा हुँदै म्याग्दी र बेनीसम्म रेल पुर्‍याउने कुरादेखि घर-घरमा ग्यासको पाइपलाइन, नेपाली झण्डावाहक जहाजलगायतका भाषणले गजबको टीआरपी पाएकै हो।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट डामिएर अदालतबाट दण्डित भएका चर्चित ठेकेदार एवं निलम्बित सांसद हरिनारायण रौनियारलाई एमालेले स्वागत गर्दै पोखरियामा आएका सबै कमरेडहरूलाई ‘फेक-पुराण’ सुनाएर मन्त्रमुग्ध बनाए। पोखरियावासीलाई स्मार्ट सिटी सपना बाँड्दै ओलीले वीरगञ्जमा भारतले निर्माण गरेको संयुक्त भन्सार कार्यालय (आईसीपी) देखि हुलाकी सडकलगायत सबै विकास आफूले गरेको गाथा सुनाए। केपी ओलीले त्यस अवसरमा शिक्षाको क्षेत्रमा आफूले आमूल परिवर्तनको कथा वाचन गर्दैगर्दा उनकै पार्टीका नगरपालिका प्रमुखले ओलीकै भाषण सुनाउन दिनभर २४ वटा विद्यालय बन्द गरेको थाहा नै पाएनन्।

एमाले पोखरिया नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश र विशाल आमसभालाई सफल बनाउन नगर प्रमुख प्रद्युम्न चौहानको निर्देशनमा नगरपालिकामा रहेका सबै २४ विद्यालय मंगलबार बन्द रहे।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रित्व कालमा शिक्षामा आमूल परिवर्तन भएको बताउँदै उनले सबै बालबालिकाहरूलाई राम्रो शिक्षा दिन सुझावसमेत दिए। पूर्वप्रधानमन्त्री ओलीले सबै अभिभावकहरूलाई छोरा-छोरीमा कुनै विभेद नराखी पढाउन बोलिरहँदा मञ्चपछाडि बसेका कतिपय युवाहरूले विद्यालय बन्द गराएर आमसभा कार्यक्रम गरिएको प्रति गुनासो नै व्यक्त गरे। पोखरिया नगरपालिका वडा नम्बर ७ का एमडी आलमले स्थानीय सरकारले पार्टीको कार्यक्रमका लागि नगरपालिकाभरिका विद्यालय बन्द गराएको विरोध व्यक्त गर्दै भने, ‘एमालेकै स्थानीय सरकार भएकोले कार्यक्रम सफल बनाउन विद्यालयहरू बन्द गरिएका हुन्, जुन धेरै निन्दनीय कार्यहरू हुन्, यस्तो कार्य एमालेजस्तो ठूलो पार्टीबाट सुहाउँदैन।’

नगरपालिका शिक्षा समितिको आदेशमा नगरपालिकामा रहेका २४ वटा विद्यालयहरू मंगलबार बन्द रहे। कार्यक्रम आयोजनास्थल रहेको पोखरिया उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयलगायत दुईवटा माध्यमिक, ४ निम्न माध्यमिक र १८ प्राथमिक विद्यालयमा लगभग १० हजार छात्र-छात्राहरू अध्ययनरत छन्। शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रमुखकै आदेशमा नगरपालिकाले सबै विद्यालय बन्द गराएको शिक्षा शाखा प्रमुख विजय झाले बताए। छठ पर्वलगत्तै विद्यार्थीहरूको उपस्थिति न्यून हुने भएकाले नगर प्रमुख रौनियारले बिदामा मिलान हुने गरी मंगलबारसम्म छुट्टी गर्न दिएको आदेशअनुसार नै पालिकाभित्रका सबै विद्यालयहरू बन्द गरिएको शिक्षा प्रमुख झाले बताए।

उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका पूर्वप्रधानाध्यापक व्यास महतोले विद्यालय परिसरमा दलका कार्यक्रम गर्ने क्रम केही वर्षदेखि बन्द भए पनि स्थानीय सरकारको कारण यो नजिर बसेको बताए। उनले भने, ‘आउने दिनमा सबै दलले विद्यालय प्रांगणमै कार्यक्रम गर्न माग गरे बाध्य भएर पढाइ बन्द गर्नुपर्ने हुन्छ।’

विद्यालयहरू स्थानीय सरकारको मातहतमा भएकाले पनि पार्टीबाट चुनिएमा जनप्रतिनिधिहरूको आदेशअनुसार चल्नुपर्ने आफूहरूको बाध्यता भएको शिक्षक दीपेन्द्रप्रसाद रौनियारले बताए। उनले भने, ‘एमालेको कार्यक्रम हो, स्थानीय सरकारमा एमाले छ, सरकारको आदेशअनुसार नै विद्यालयहरू बन्द गरिएका हुन्, यसमा के बेठीक छ र?’

स्रोत : अनिल तिवारी/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर