मन्त्रिपरिषदले स्वीकृत गर्‍याे उपरथी पाण्डेको राजीनामा

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पाण्डेले उमेर कीर्ते गरेको आरोप खेप्दै आएका छन् । उनले उमेर संशोधन गरेर नागरिकता बनाएको आरोप लागेको छ भने उनीविरूद्ध जंगी अड्डा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

उनलाई भावी प्रधानसेनापतिको रूपमा अगाडि बढाउनका लागि रथीमा बढुवाका लागि सिफारिसमेत गरिएको थियो । उनको नागरिकता २ वटा रहेको बताइएको छ भने उनले एसएलसीको मार्कसिटमा पनि आफ्नो जन्ममिति केरमेट गरेका छन् ।

उपरथी पाण्डे हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापतिको रोलक्रममा थिए । प्रधानसेनापति शर्माले २०८१ भदौ २४ मा अवकाश पाउँदैछन् ।

उपरथी पाण्डेको राजीनामापछि अब कुनै विवाद सार्वजनिक नभएमा उपरथी अशोक सिग्देलको बढुवा हुनेछ ।

उपरथी सिग्देलको बढुवा भएमा उनी भावी प्रधानसेनापतिको रोलक्रममा हुनेछन् । यस्तै रथीमा हाल मिसनमा रहेका निर्मल थापाको बढुवा हुनेछ । उनी हाल अनडोफ मिसन सिरियामा फोर्स कमाण्डर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर