हाम्रो कार्यक्रम बाघको जस्तो, दुर्गा प्रसाईंको कार्यक्रम कुकुरको जस्तो : महेश बस्नेत

'प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारको कुर्सीबाट माइतीघरमा ल्याएर पछार्छौं'

नेकपा (एमाले) का नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईं समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् ।

बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठीक ठाउँमा बस्न चेतावनी दिए ।

उनले भने, ‘हामीले भनेका थियौं हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईंको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठीक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

उनले नेकपा (माओवादी केन्द्र) लाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी दिए ।

उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु, तपाईं सच्चिनु भएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनुभयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो, त्यो तागत युवा विद्यार्थीसँग छ, एमालेसँग छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *