जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ

देशका विभिन्न स्थनाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् । झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

झापा दमक नगरपालिका-७ हाटखोला बस्ने ४१ वर्षीय कर्णबहादुर राईसहित ११ जना पक्राउ परेका छन् । राईको घरमा जुवा खेलेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सय रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी लमजुङ सुन्दरबजार नगरपालिका-६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठसहित ११ जना पक्राउ परेका छन् । श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास, १ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैगरी काभ्रे भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय भरत गिरीसहित ४ जना जुवातास खेल्दाखेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका-८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर