झापामा रबर उद्योगमा आगलागी, ३५ लाखको क्षति

मेचीनगर नगरपालिका-१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा ३५ लाख रूपैयाँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्‍याएको थियो ।

आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए ।

भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो । झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ ।

रबरको रूखबाट सङ्कलन गरिने दूधजस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारको समेत अनुदानमा स्थापना भएको थियो ।

यसैगरी आज बिहान गौरादह-२ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा एक लाख ६० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको उनले जानकारी दिए ।

आगो गौरादह र कमल गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले गोठमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर