भूकम्पमा आफन्त गुमाएका परिवारले अझै पाएनन् राहत

सरकारले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई तत्कालै उपलब्ध गराउनुपर्ने राहत रकम समेत झन्डै एक महिना पुग्दापनि पीडित परिवारको हातमा पुर्‍याउन सकेको छैन।भूकम्पबाटआफन्त गुमाएर पीडामा रहेका परिवारको संवेदनाप्रति राज्य उदासिन देखिएको हो। कार्तिक १७ गते गएको भूकम्पका कारण मृत्यु भएका परिवारका आफन्तले पाउने राहत रकम अझ हातमै पुग्न सकेको छैन।

भूकम्प गएको झण्डै एक महिना पुग्न लाग्दा पनि मृतकका परिवारको राहतका लागि कागजात सहि आवश्यक प्रक्रिया पूरा गरी प्रमाणित गर्न स्थानीय तहबाट ढिलाइ हुँदा पीडितका परिवारले राहतको आशैमा समय गुजार्नु परेको हो।

केन्द्रबाटै राहत रकम पठाउनै समय लागेको र मृतक व्यक्तिको प्रहरीबाट मुचुल्का तयार गर्न र स्थानीय तहबाट मृत्युदर्ता गर्न समेत विलम्ब र कतिपयको जन्मदर्ता समेत नभएका कारण पीडितका लागि तत्कालिन राहत वितरण कार्य समेत अझ पनि जारी रहेको हो।

भूकम्पबाट सबै भन्दा प्रभावित जाजरकोटमा आइतबारसम्म सबै मृतकका परिवारले अझ पनि सरकारबाट पाउनुपर्ने राहत रकम पाएका छैनन्। जाजरकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार आइतबार जम्मा ८१ जना मृतकका परिवारलाई २ लाखको दरमा राहत वितरण गरिएको छ। जाजरकोटमा सरकारले मृतक परिवारका सदस्यलाई १ करोड ४० लाख रुपैयाँ वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।जाजरकोटमा भूकम्पबाट १ सय १ जनाको मृत्यु भएको थियो।

मृतक परिवारको राहतको लागि ५ करोड रुपैयाँ र अस्थायी आवास निर्माणका लागि ५० करोड रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषले जिल्ला पठाएको थियो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार नलगाढ नगरपालिका, कुशे गाउँपालिकाका सबै मृतकका परिवारलाई राहत वितरण भएपनि भेरी नगरपालिका र अन्य स्थानीय तहले कागजात प्रमाणितमा ढिलाइ गरेकाले वितरण कार्य सुरू नभएको हो।

‘एक त केन्द्रबाट राहत रकम नै ढिला आयो।अर्काे चाडपर्व, स्थानीय तहले कागजात प्रमाणिकरणमा विलम्ब गरेका कारण राहत वितरण समयमा हुन सकेन’, सहायक प्रजिअ हरिश्चन्द्र शर्माले भने।बाँकी रहेका मृतकका परिवारलाई पनि कागजात प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालयले राहत बाढ्ने उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर