गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : देउवा

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।

उनले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् रु यो प्रश्नमा उनले भने, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।”

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ रु यस प्रश्नमा देउवाको जवाफ थियो, थाहा पाइहाल्नु हुन्छ नी ।

सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन । सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । कोइरालाले भने, जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।

नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *