नवराज विक हत्या प्रकरणमा जन्मकैद सुनाइएका १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएकामध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि सजाय सुनाइएको छ। तीन वर्षअघिको घटनामा जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो।

जिल्ला अदालत रूकुम पश्चिमले मंगलबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाएकामध्ये १७ र अरू दुई जना गरी १९ जनालाई जातीय विभेद र छुवाछुत गरेको अभियोगमा सजाय सुनाइएको छ।

रूकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार जन्मकैद सजाय तोकिएका मध्येका नवराज विककी प्रेमिका भनिएकी युवतीको परिवारका पाँच जना र पारिवारिक नाताभित्रका छन्।

जातीय छुवाछुत गरेको ठहर भएकालाई २ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सुनाइएको छ।

जन्मकैद सजाय तोकिएका चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल र परिवर्तित नाम तीन (५४ रुकुम पश्चिम (३६) १, ५४ रुकुम पश्चिम (३६) ३ र ५४ रुकुम पश्चिम (३९) लाई जातीय छुवाछुतसम्बन्धी कसुरमा पनि सजाय तोकिएको हो।

नाम परिवर्तन गरिएका नवराजकी प्रेमिका भनिएकी युवतीका बुवा, दाजु र भाइ हुन्।

जन्मकैद पाएका २४ मध्ये मोहन पुन मगर, सविन पुन (सर्वजति), धनाराज राना, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर र रमित पुन मगरलाई भने कर्तव्य ज्यानसम्बन्धी कसुरमा मात्र जन्मकैद तोकिएको छ।

२०७७ जेठ १० गते नवराज विक रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीमा रहेकी आफ्नी प्रेमिकालाई विहेका लागि लिन जाँदा स्थानीयले कुटपिट गर्दा ६ जना युवकको मृत्यु भएको थियो।

सोती घटनामा जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज, १७ वर्षीय गणेश बिएम (बुढा मगर), २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका-११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो।

उक्त दिन नवराज आफ्ना अरू १७ जना साथीहरू लिएर सोती गाउँ पुगेका थिए। स्थानीयको कुटपिटमा परेर घाइते भएका १२ जनालाई भने प्रहरीले उद्दार गरेको थियो।

यो मुद्दामा साढे तीन बर्षपछि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले मंगलबार फैसला गरेको हो। सुनुवाइका क्रममा वादीतर्फबाट १८ र प्रतिवादी तर्फबाट ५ जना वकिलहरूले बहस गरेका थिए। आइतबारदेखि मंगलबारसम्म तीन दिन बहस चलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *