पाकिस्तानसँग ७ विकेटले हार्‍याे नेपाल

एसीसी यू-१९ एशिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार यूएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको हो।

नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍याे।

पाकिस्तानका लागि कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्राहर गरे।

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए।

नेपालका लागि तेस्रो विकेट आकाश त्रिपाठीले लिए। उनले २५ औं ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान शाद बाइगलाई ५० रनमा सुवास भण्डारीबाट क्याच गराए।

अजनले नटआउट ५६ रन जोडे। उनले ६२ बलमा ८ चौका हिर्काए। मोहमद जीशनले ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै नटआउट २० रन जोडे।

खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।

दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो।

दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

अन्तिम विकेटको रूपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे।

बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर