सशस्त्र प्रहरीकाे मिलेमतोमा हुँदै आएकाे काठ तस्करीकाे जालाे नेपाल प्रहरीले ताेड्याे

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेलका घुमुवा सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुमार खड्काले तोडेका छन् ।

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी रोक्न प्रहरी नायब निरीक्षक खड्का तस्कर नियन्त्रणमा उत्रिएसँगै सशस्त्र प्रहरीसँगको मिलेमतोमा हुँदै आएको काठ तस्करी रोकिएको हो ।

अर्जुनधारा-५, बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्र्याक्टर नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय झापालाई बुझाएसँगै सशस्त्र प्रहरी बल शनिश्चरे र सशस्त्र प्रहरी बल खुदुनावारीसँगको मिलेमतोमा लामो समयदेखि काठ तस्करी हुँदै आएको विषय सतहमा आएको हो ।

सशस्त्र प्रहरी बल शनिश्चरेका प्रहरी नायब उपरीक्षक राजेश्वरप्रसाद साह र सशस्त्र प्रहरी बल खुदुनावारीका प्रहरी नायब निरीक्षक हिरबहादुर राईसँगको मिलेमतोमा काठ तस्करी हुने गरेको खुलेको हो ।

सशस्त्र प्रहरी बल शनिश्चरेका प्रमुख साह करिब पाँच महिनाअघि शनिश्चरेको कमाण्ड सम्हाल्न आएदेखि नै तस्करीको धन्दा चलाउनेहरूसँग रकम असुल्ने गरेको आरोप लाग्दै आएको हो । त्यस्तै सशस्त्र प्रहरी बल खुदुनावारीका प्रहरी नायब निरीक्षक राई दसैंअघि मात्रै खुदुनावारीको कमाण्ड सम्हाल्न आएका थिए ।

उनलाई समेत यसअघिका सशस्त्र प्रहरीका इञ्चार्ज अमर भुजेलले तस्करसँगको लाइन मिलाइदिएको स्रोतको दाबी छ । अस्थायी प्रहरी चौकी खुदुनावारी र सशस्त्र प्रहरी बल खुदुनावारीको कार्यक्षेत्र पार गर्दै तस्करीको काठ अर्जुनधारा भित्रिएसँगै शनिश्चरे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्काले नियन्त्रणमा लिएका थिए ।

काठ जुकेखाडी सामुदायिक वन क्षेत्रबाट आएको बताइन्छ । शनिबार बिहान साढे ५ बजेको समयमा अर्जुनधारा नगरपालिका-५, बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहितको ट्र्याक्टर नियन्त्रणमा लिएर दक्षिणतर्फ आउँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरी नायब निरीक्षक खड्काले काठसहित ट्र्याक्टर नियन्त्रणमा लिएका थिए ।

काठ बोकेको ट्र्याक्टर नियन्त्रणमा लिएलगत्तै प्रहरी नायब निरीक्षक खड्कालाई तत्काल ९५ हजार रूपैयाँ घुस दिएका थिए । केही समयपछि चार लाख रूपैयाँ घुस उपलब्ध गराउने भन्दै आफूसँग अहिले ९५ हजार रूपैयाँ मात्र रहेको र बाँकी प्रहरी चौकीमै पु¥याउने भन्दै तस्करीमा संलग्न उम्कन खोजेका थिए । तर, घुस रकमसहित अर्जुनधारा-३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानीलाई समेत पक्राउ गर्दै जिल्ला वन कार्यालय झापा पठाएसँगै खुदुनावारीबाट हुँदै आएको काठ तस्करीमा ब्रेक लागेको हो ।

‘ट्र्याक्टर नियन्त्रणमा लिएलगत्तै चार लाख रूपैयाँ घुसस्वरूप उपलब्ध गराउने र ९५ हजार रूपैयाँ तत्कालै दिन्छौं भनेका थिए,’ प्रहरी नायब निरीक्षक खड्काले भने, ‘प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने भन्दै उनीहरूलाई समेत नियन्त्रणमा लिएर जिल्ला पठाएको हुँ ।’

‘उत्तरबाट दक्षिणतर्फ मे १ त ८०५ नम्बरको ट्र्याक्टरमा काठ आउँदै थियो,’ उनले थपे, ‘गोप्य सूचनाको आधारमा हामीले सो ट्र्याक्टरलाई फलो गरेर नियन्त्रणमा लिएका हौं । माटोले छोपेर काठ ल्याइँदै थियो ।’

प्रहरीले बरामद गरेको काठमा चिरान ५ फिट लम्बाइका २ थान, ६ फिटका ११ थान, ७ फिटका १९ थान, ८ फिटका २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्यु फिट सखुवा जातको काठ फेला परेको थियो । बरामद गरिएका काठको मूल्य मात्रै २ लाख ७० हजार रूपैयाँ रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सशस्त्र प्रहरी बल शनिश्चरेका प्रहरी नायब निरीक्षक साहले तस्करीको लाइन मिलाउन सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको प्रयोग गर्ने गरेको स्रोतको दाबी छ । कुँवर यसअघि जिल्लाको घुमुवाको रूपमा काम गर्दै आएका थिए । तर, उनको पश्चिम सिन्धुपाल्चोक सरूवा भएसँगै उनले नेकपा (एमाले) को शक्ति प्रयोग गरेर सशस्त्र प्रहरी बल शनिश्चरेमा काज मिलाएका थिए । उनी सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेलको विश्वास पात्रका रूपमा चिनिन्छन् ।

जिल्लामा कार्यरत रहँदा कुँवरलाई कुन क्षेत्रबाट केको लाइन चलाउन सकिन्छ भन्ने ज्ञान भएकाले अर्जुनधाराबाट काठको लाइन मिलाउन सशस्त्र प्रहरीका डीएसपी साहको नजिक बनेर तस्करीको सेटिङ मिलाउँदै आएको स्रोतले जानकारी दियो ।

यता सशस्त्र प्रहरी बल शनिश्चरेका प्रहरी नायब उपरीक्षक साहले तस्करहरूसँग आफ्नो साठगाँठ नरहेको बताएका छन् । अवकाशको समय भएकाले आफू कुनै प्रलोभनमा नपर्ने उनले बताए । आफूले पनि नेपाल प्रहरीले काठ बरामद गरेको सुनेको र सो विषयमा अन्य जानकारी नभएको भन्दै काठ तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।

इलामको दक्षिणी भागमा रहेका वनसँगै अर्जुनधारा क्षेत्रभित्र हचुमासा, हलुवागढ, सुखानी, शान्ति, जुकेखाडी, दहीझोडा सामुदायिक वन रहेका छन् । सामुदायिक वनबाट हुने गरेको काठ तस्करीमा सशस्त्र प्रहरीको मिलेमतो रहने गरेको स्थानीयले समेत बताउँदै आएका छन् ।

स्रोत : सुरेन्द्र भण्डारी, झापा/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *