लुम्बिनीका महिला कर्मचारीले ‘महिनावारी बिदा’ पाउने

लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक निजामती कर्मचारीलाई महिनावारी हुँदा बिदा दिने व्यवस्था गरेको छ। प्रदेश निजामती सेवा ऐनको दफा ११७ को १ (ग) मा ‘महिनावारी बिदा’ को व्यवस्था राखिएको हो ।

२२ भदौमा प्रदेश सभाबाट पारित प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले २१ मंसिरमा प्रमाणीकरण गरेसँगै ऐन बनेको छ । ‘महिनावारी बिदा’को कार्यान्वयन भने नियमावली बनेपछि हुनेछ । कति दिन बिदा दिने भन्ने पनि नियमावलीमै तोकिने छ।

विधेयक संशोधनका क्रममा ‘महिनावारी बिदा’को विषय समावेश गरेपछि नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनीले जनाएको छ । प्रदेश सभामा बिदाको प्रस्ताव पेस गरेका प्रदेश सभा सदस्य खड्क बस्नेतले कर्मचारीलाई दिने बिदामा ‘महिनावारी बिदा’ थपिनु उपलब्धिमूलक रहेकोे बताए । ‘पहिलेको ऐनमा महिनावारी बिदाको बुँदा थिएन । विधेयक संशोधनको समयमा महिनावारी बिदाको विषय पनि प्रस्ताव गरेका थियौँ, जुन पारित भएर आएको छ । महिला निजामती कर्मचारीको हकमा यो ठूलो उपलब्धि हो,’ उनले भने ।

नेपालमा निजी क्षेत्रका केही कम्पनीहरूले महिनावारीको समयमा बिदा दिदैँ आए पनि निजामती कर्मचारीको हकमा यो निर्णय पहिलोपटक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर