वैदेशिक राेजगारीमा गएका १३ हजार नेपालीले गुमाए ज्यान

मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ।

वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।

लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ। बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ। सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ।

हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ। संकलित सोही रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ।

वैदेशिक रोजगारीको क्रममा नेपाली युवा रोजगारको क्रममा विभिन्न देश पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। सबैभन्दा खाडीका ६ वटा देश कतार, युएई, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा जाने गरेका छन्। त्यस्तै धेरै कामदार जाने अर्को देश भनेको मलेसिया हो।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार कामका लागि विदेश पुगेकामध्ये मृत्यु हुनेमा हालसम्म सबैभन्दा धेरै मलेसिया रहेको छ। मलेसियामा मृत्यु हुनेको संख्या ३ हजार ९ सय ६७ जना छन्। त्यस्तै मलेसियापछि साउदी अरेबियामा मृत्युको संख्या ३ हजार ४ सय ४६ जना र कतारमा २ हजार ४ सय ६० जना रहेको छ।

मलेसियामा आपसी झगडाका कारणले पनि नेपालीको मृत्यु हुने गरेको बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी गराएका छन्। मलेसिया, साउदी अरेबिया र कतारमा मृत्यु र बिरामी तथा अंगभंग हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको उनले बताए। यो तथ्यांक वैदेशिक रोजगार बोर्डको मात्रै हो।

गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा भने छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएसँगै मृत्यु हुनेको संख्या पनि बढेको बोर्डका प्रवक्ता ढकालले जानकार गराए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर