अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरूको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरूमा सुधार हुँदै गएको बताएका हुन् ।
‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिकको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरू विस्थापित हुने अवस्था अन्त्य हुनेछ,’ अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’
उनले बेरोजगारहरूलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनुपर्ने धारणा राखे । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए ।
डा महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरूको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे ।
‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ,’ उनले बताए । उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए । उनले यातायातको लागत कम गर्न र कामदारहरूको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरूले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए ।
श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *