राष्ट्रिय सभा निर्वाचनमा दस दल दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन १० वटा दल दर्ता भएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज (मङ्सिर २९ गते) शुक्रबार सकिँदै छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् । राष्ट्रिय सभामा लोसपा नेपालका एक सदस्य छन् ।

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र राष्ट्रिय सभाको चौथो ठुलो दल नेकपा (एकीकृत समाजवादी) ले भने शुक्रबार मात्रै दल दर्ता गराउने बताइएको छ ।

यसअघि बुधबार जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले दल दर्ता गराएका छन् । राष्ट्रिय सभामा जनता समाजवादी पार्टीका तीन र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। नेपाल समाजवादी पार्टी (नेसपा) को प्रतिनिधित्व छैन ।

जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीले आइतबार र सोमबार दल दर्ता गराएका थिए ।

प्रतिनिधि सभामा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभामा प्रतिनिधित्व छैन । स्थानीय तहमा समेत प्रतिनिधित्व नरहेको सो दलले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने वा नलिने सम्बन्धमा अझै स्पष्ट छैन । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *