चोभारमा बनेको नमुना क्यानओपी जीपलाइन सञ्चालनमा, अभिनेत्री वर्षा राउतले गरिन् उद्घाटन

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् ।

आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमुना जीपलाइनको रूपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन् ।

क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीनवटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । सुरूमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीनवटा अनुभव लिन सकिने बताइएको छ ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमुना जीपलाइन क्यानओपी रहेको दाबी गरे । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीनवटा अनुभव लिन सकिने बताए ।

उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीनवटा अनुभव प्राप्त गर्न सकिने बताए । उनले जापानिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट जीपलाइन सञ्चालनमा ल्याइएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरू सबैले अनुभव लिन सक्ने बताए ।

उनले जीपलाइनमा क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीनवटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिन सक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीनवटै अनुभव लिनेलाई १ हजार २ सय रूपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए । उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरूङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए । उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका-६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे । उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए ।

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चरप्रेमी भएकाले उत्साहित रहेको बताइन् । उनले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्न सक्ने बताइन् ।

उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढीभन्दा बढी हुनुपर्ने बताइन् । क्यानओपी जीपलाइनमा तीनवटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर