चुनाव जितेर मात्रै माननीय भइँदैन : जगमान गुरूङ

वरिष्ठ संस्कृतिविद् जगमान गुरूङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।

उनले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए। लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ।

उनले नेताहरूले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताए। आफू नेपाल प्रज्ञा-प्रतिष्ठानमा रहँदा सातवटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको उनको गुनासो थियो।

उनले नेपालको सर्वांगीण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताए।

उनले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए।

उक्त पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा-उपविधाहरूलाई केलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर