विकृति-विसंगति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ताको सक्रियता जरूरी : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताएकी छन्।

आज आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिइन।

‘व्यवस्था परिवर्तनका लागि जसरी हामी एकजुट भयौँ, सोहीअनुसार व्यवस्था सुदृढीकरणका लागि सबै निष्ठापूर्वक लाग्नुपर्ने जरूरी छ। समाजका विकृति, विसङ्गति हटाई संस्कार, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ,’ उनले भनिन्।

समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताइन्।

‘पहुँचमा रहेकाहरू माथि पुग्ने र निष्ठापूर्वक काम गर्ने पछाडि पर्ने स्थिति छ। यसलाई तोड्नु चुनौतीको विषय हो। यस्तो चुनौती चिर्नका लागि अग्रज व्यक्तिले विगतमा निर्वाह गरेका भूमिका र संस्कार नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न जरूरी छ,’ मन्त्री शर्माले भनिन्।

उक्त कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समीर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताए। वि. सं. २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ।

साहित्यिक परिषद्का संस्थापक अध्यक्ष केशव गिरीले यस क्षेत्रका भाषा, साहित्य संरक्षणमा अझ सशक्तरूपमा लैजान नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिए।

आज साहित्यिक परिषद्ले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ। साथै आजै परिषद्को ‘खसानी’ गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको छ। यो विशेषाङ्कमा २०७४ देखि हालसम्ममा मध्यपश्चिमका साहित्यिक अवस्थाका सम्बन्धमा सिर्जना गरिएका विभिन्न लेख, रचना समेटिएको छ।

साहित्यिक परिषद्का संस्थापक उपाध्यक्ष प्रा. डा. जिवेन्द्र गिरीले खसानी गोष्ठीपत्र विशेषाङ्कमा विशिष्ट अनुसन्धानात्मक गोष्ठी पत्र, मध्यपश्चिमको साहित्यक इतिहास, विभिन्न कालखण्डका साहित्यिक व्यक्तिको अभिलेख, त्यस क्षेत्रका नृत्य, भाषा, प्रथा, परम्परागत वेशभूषा, जाति, कला संस्कृतिलगायत विषय समेटिएको बताए। सोही कार्यक्रममा मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्‍याएका १२ जना प्रतिभालाई पुरस्कृत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर