समयमा काम पूरा गर्ने ठेकेदारलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताएका छन्।

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताए।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ। मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात् जनजीवनमा सहजता हुने बताए।

विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनर्निर्माणका लागि पहल गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताए। पुल नहुँदा वर्षातको समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिए।

शिवराज नगरपालिका-१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरू भएको थियो। तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्षअगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ। पुल ४६ करोड १५ लाख ३० हजार रूपैयाँको लागतमा निर्माण भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *