बिनातयारीका आयोजनाहरूको ठेक्का प्रक्रिया अगाडि बढाउँदैनौं : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिनातयारीका आयोजनाहरूको ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।

आइतबार राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। उनले पूर्वतयारीबिना आयोजनाहरूको ठेक्का लगाउँदा आयोजनाहरू समयमा नै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा बिनातयारीका आयोजनाहरू ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।

मन्त्री ज्वालाले विगतका सरकारले पूर्वतयारीबिना आयोजनाहरूको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाहरूको भार बोक्न बाध्य रहेको आरोप लगाए। उनले आयोजनाहरूको तयारीबिना टेण्डरपछि समस्या आउने र आयोजनाहरुको समय लामो हुने गरेको भन्दै बिनापूर्वतयारीका आयोजनाहरू टेण्डर प्रक्रियामा नै नलैजाने जिकिर गरे।

मन्त्री ज्वालाले बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न ईआईए, आईएई र डीपीआर पूरा हुन आवश्यक रहेको बताए।

उनले पछिल्लो समय सरकारले काम नगर्ने आयोजनाका ठेक्काहरू तोड्ने कामहरू पनि गरिरहेको उल्लेख गरे। उनले ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाहरूमा ठेक्का तोड्न नसकिएको बताए।

उनले आयोजनाहरूको रकामान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको बताए। संसदीय समितिहरूले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाई सँगै राखेर छलफल गराए भौतिक मन्त्रालयलाई सहज हुने उनको भनाइ छ।

अन्तरमन्त्रालय गत समन्वयमा समस्या रहेको भन्दै मन्त्री ज्वालाले अर्थ, कानुन र वन मन्त्रालयमा गएका फाइलहरू त्यही अड्किने गरेको दाबी गरे। उनले संयन्त्र नै बनाएर अन्तरमन्त्रालय समन्वय गराउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका केही सहजता हुने विश्वास रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *