ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए।

शपथग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीका रूपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति-निर्देशनअनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गरे।

ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको उनले बताए।

ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्‍याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए।

ढकालले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै शपथ गराएका छन्।

ग्लोबल आइएमई बैंकको १७ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए।

शपथग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *