रूकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारले पाए बीमाबापतको रकम

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रूकुम पश्चिममा मृत्यु भएका व्यक्तिका परिवारहरूलाई राष्ट्रिय बीमा कम्पनीले बीमाबपतको रकम उपलब्ध गराएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका नागरिकको प्राकृतिक विपद्बाट मृत्यु भएमा प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरी प्राकृतिक विपद् दुर्घटना बीमा कार्यक्रम सुरू गरेको थियो । सोहीअनुसार बीमा कम्पनीले भूकम्पपीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।

उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले ६८ लाख रूपैयाँ प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

बाँकी आठ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतक परिवारका सदस्यहरूलाई पनि बीमा कम्पनीले दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार मृतकका परिवारलाई वडामै पुगेर दुई लाख रूपैयाँका दरले २४ लाख रूपैयाँ उपलब्ध गराइएको थियो । चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

जिल्लामा ४६ मृतकका परिवारले दुई लाख रूपैयाँका दरले ९२ लाख रूपैयाँ पाएका छन् भने अझ नौ जनाले रकम पाउन बाँकी छ । गत कात्तिक १७ गते राति भूकम्प जाँदा रूकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर