सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न माप्य दूधकोशी गाउँपालिका वडा नं. ५, महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले शुभारम्भ गरे ।

रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्व कीर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरू रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताए । ‘नेपालका डाँडाहरूलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताए ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएको बताए । उनले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।

माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उदेश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए ।

उनले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रूपमा विकास गर्न गाउँपालिका लाग्ने बताए ।

टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले विभिन्न स्थानीय सरकारसँग मिलेर नयाँ पदमार्ग खोज्दै त्यसलाई ‘ब्राण्डिङ’ गर्न लागेको बताए । सो अवसरमा विभिन्न रक क्लाइम्बरहरूले रक क्लाइम्बिङ गरेका थिए ।

दूधकोशी गाउँपालिकाले तीन दिन पहिले मात्र उक्त गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी शुभारम्भ गरेको थियो । उक्त पदमार्ग चार रात पाँच दिनको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर