शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालयको आज भएको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताए ।

‘राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु,’ राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित हुने तपाईं छात्रछात्राको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।’

राष्ट्रपति पौडेलले स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा मुलुकलाई अघि बढाउन नेपालीहरू हिँडिरहेको बताउँदै देश परिवर्तनको बाटोमा अघि बढ्दाको सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि नेपालीले गर्न परिरहेको बताए ।

‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान र विदूषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ,’ राष्ट्रपति पौडेलले भने, ‘देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि तपाईं हामीहरूले नै गर्नुपरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर