प्रहरी श्रीमती संघ र नोबेल अस्पतालबीच उपचारमा छुटसम्बन्धी सम्झौता

नेपाल प्रहरी श्रीमती संघ र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

प्रहरी श्रीमती संघका तर्फबाट संघकी अध्यक्ष लक्ष्मी कुवँर र अस्पतालका तर्फबाट अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सोमबार आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा संघकी अध्यक्ष कुँवरले प्रहरी कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्दै यसले सकल दर्जाको मनोबल उच्च भई शान्तिसुरक्षा कार्यमा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नोबेल मेडिकल कलेजकी प्रबन्ध बरालले सामाजिक उत्तरदायित्व वहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरूलाई उपचारमा सहुलियत उपलब्ध गराइएको र आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने लक्ष्य रहेको बताइन् ।

नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरूलाई उपचारका क्रममा बहिरंग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरंग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतापत्रमा उल्लेख छ ।

हाललाई १ वर्षको सम्झौता अवधि रहेको र पुनः थप गर्दै लगिनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर